मनकामनापोष्ट

Written by 11:33 am ताजा अपडेट, राजनीति, राष्ट्रिय

प्रचण्डको खुलासा– एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा थिए ओली


काठमाडौं,फागुन १६ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता जस्ताको जस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसीका बारेमा देखिएका विवाद समाधान गर्न निकालेको उपायका सम्बन्धमा जानकारी दिँदै यस्तो बताएका हुन् । गत वर्ष तत्कालीन नेकपा नेतृत्वको सरकारले एमसीसी सम्झौता पारित गर्ने प्रकृया अघि बढाउन खोज्दा आफूहरुले नै रोकेको प्रचण्डको भनाइ थियो ।

ओली र आफू एउटै पार्टीमा रहेको अवस्थामा ओली एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा उभिएको र आफूहरु संशोधन वा परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा रहेको उनले बताए । उनले तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमा आफूसहित सात जना एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा रहेको र ओलीसहित दुई जना भने जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा उभिएको स्मरण गराए ।

काँग्रेस सभापति शेरबहादुर देउवा त्यतिबेला प्रमुख प्रतिपक्षका नेता रहेको र देउवासमेत आफूहरुको प्रस्तावमा सहमत भएको तर तत्कालीन प्रधानमन्त्री ओली सहमत नहुँदा एमसीसीबारे त्यो बेला कुनै निर्णय हुन नसकेको उनले बताए । प्रचण्डले भने, ‘अहिले एमसीसीलाई एउटा निकास दिइएको छ । के होला, गठबन्धन बच्ला कि नबच्ला, अर्को गठबन्धन बन्छ कि भन्ने खालको अन्योल हिजोबाट अन्त्य भएको छ ।’

प्रचण्डले गठबन्धन भत्काएर शान्ति प्रक्रियाका बाँकी काममा अवरोध गर्ने र अहिलेको व्यवस्थालाई नै चुनौती दिने खालको प्रयासलाई आफूहरुले सुझबुझपूर्ण) ढंगबाट विफल तुल्याएको र एमसीसीका सम्बन्धमा विगतदेखि नै आफूहरुले ‘जस्ताको तस्तै पारित गर्नु हुँदैन’ भनेर राख्दै आएको मान्यताअनुसार संसदबाट ब्याख्यात्मक घोषणा गरिएको प्रस्ट पारे ।

यसमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि सार्थक भूमिका निर्वाह गरेको र एमसीसीका सम्बन्धमा राष्ट्रिय सहमति जुट्न सक्छ कि भनेर एमाले अध्यक्ष ओलीसँगसमेत आफ्नै सुझावअनुसार छलफल गर्न गएको प्रचण्डको भनाइ थियो । तर, गत वर्ष एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका ओली अहिले भने संसदमा दलीय माग अघि सारेर एमसीसीका सन्दर्भमा मौन देखिएको उनले बताए ।

(Visited 7 times, 1 visits today)

HTML tutorial