मनकामनापोष्ट

Written by 11:18 am ताजा अपडेट, राष्ट्रिय, समाज, स्थानीय

लडाइँको मैदानमा एक नाबालिग


काठमाडौं,फागुन २४ गते । उनका लागि समाज बाघजस्तो छ । समाजका मानिस बाघका डमरुजस्ता छन् । सोसल मिडियाका अन्तरक्रिया पुलिसजस्ता छन् । बाघ र डमरुका मुखबाट ज्यान जोगाउन मुटु दह्रो बनाउँछिन् तर सोसल मिडियामा बर्सिने घृणाका शब्द तारेभीरझैँ उनको थाप्लोमा बज्रिन्छन्, त्यसलाई पन्छाएर अघि बढ्न उनलाई हम्मे हम्मे पर्छ । नाबालिग उनलाई लाग्छ, यो संसार भनेको बाघको बगाल हो र उनी आफू त्यस बगालको निमुखो शिकार हुन् । अँध्यारो सुरुङमा थुनिएको महसुस गर्छिन् । सुरुङको एकातिर बाघ छ, अर्कोतिर पुलिस । उनलाई लाग्थ्यो, सुरुङमा तड्पिई तड्पिइकन मर्नुबाहेक अन्य कुनै उपाय नै छैन ।

आफू बसेको ठाउँ बिरानो लाग्थ्यो । त्यो बिरानो ठाउँमा उनलाई पल–प्रतिपल थरीथरीका राक्षसी आँखाले आफूलाई घेरिरहेजस्तो, पछ्याइरहेजस्तो, लखेटिरहेको जस्तो लाग्थ्यो । त्यसैले त ‘मरिदिन्छु’ भन्ने सोचले बारम्बार उनलाई घच्घच्यायो ।

आफूलाई सबैले त्यागेको, हेपेको, घृणा गरेको सहन सक्दिनथिन् । जसलाई उनले कहिल्यै देखेकीसमेत थिइनन्, ती व्यक्तिले पनि उनको क्यारेक्टमा औँला उठाए । ‘यस्ती, उस्ती’ भनेर शब्दवाण प्रहार गरे । ‘रे’ को भरमा सत्यतथ्यबारे थाहै नपाइकन सुन्नै नसकिने शब्दले गालीगलौज गरेको सुन्दा यति रुन्थिन्, लाग्थ्यो आँखाका आँसु रित्तिइसके । यति ठूलो संसारमा मिठो वचन बोलिदिने, मायाले यसोक्क हात समाइदिने निकै थोरै थिए, एउटै हातको औंलामा गन्न मिल्ने ।

तर, त्यही सीमित व्यक्तित्वको स्नेह, आड र सान्त्वनाले उनलाई अघि बढ्ने प्रेरणा दियो । केही समय यता उनलाई समर्थन गर्ने व्यक्तिहरुको संख्या बढेसँगै उनको आँट र जाँगर पनि बढेको छ । सुरुवाती दिनमा भन्दा पछिल्लो समय उनी ‘स्ट्रङ्ग’ भएकी छिन् । ‘यिनीहरूले यत्तिसम्म पनि गर्न सक्दा रहेछन्’ भनेर अत्तालिएर रोइकराई गर्ने उनीमा ‘अब म लड्नुपर्छ है’ भन्ने कन्फिडेन्स जागृत भएको छ ।

‘मरेँ भने त हारेँ नि त’, यतिसम्मको सोच आउँछ आजकाल उनलाई । उनको रोजाईंमा मृत्यु परेको भए, उनलाई मरणोपरान्त पनि मानिसले ‘यसैको त गल्ती रहेछ नि, त्यसैले मरी’ भनेर सोच्थे । त्यसैले उनले हिम्मत हारिनन्, स्थितिसँग जुध्ने, लड्ने र कसैगरी जीत हासिल गर्ने भनेर अघि बढिरहेकी छिन् । यसका लागि उनलाई सबैको साथ, सहयोग, सल्लाह सुझाव र हौसलाको खाँचो छ ।

हेर्नेहरूलाई रमिताको आनन्द छ । हेरिने नाबालिग बाघ र डमरुहरूका ओडारमा छिन्, आशा र डर मिसिएका आँखाले सबैलाई नियालेर न्याय प्राप्तिका लागि अग्रसर छिन् । आफू सत्य छु, गलत छैन भन्ने कुरामा शत प्रतिशत विश्वस्त छिन् । सत्यको जीत हुने कुरामा उनलाई रत्तिभर पनि शंका छैन । उनका आशा निम्छरो पखेटा फिँजाउँदै, जानी नजानीकन उड्दै बिस्तारै वेग मार्न थालेको छ ।

उनको यो विषयले बलात्कार केलाई भन्ने विषयमा पनि विवाद निम्तिएको छ । ‘लुगा च्यात्तिएको थियो र ? जबरजस्ती गरिएको थियो र ? पल त त्यस्ता स्वभाव भएका व्यक्ति होइनन्’ भनेर एउटी नायिकाले अभिव्यक्ति दिएकी छिन् । एकजना रंगपत्रकारले ‘दाह्रा निस्किएकोलाई महानायिका भनिदिनुपर्ने’ भन्दाखेरि ती नायिकाले यस्तो अभिव्यक्तिले आफूलाई मानसिक तनाव दिएको बताएकी थिइन् । यसबारे उनले ठूलै रोइकराई पनि गरेकी थिइन् । सहकर्मीमाझ हारगुहार गरेकी उनले युट्युवमा रुँदै अन्तरवार्ता दिएर आँसुका माध्यमबाट सहानुभूति बटुल्न खोजेकी थिइन् । तर, अहिले परिस्थिति फेरिएको छ । एक नाबालिग गायिकाले आफ्नो साङ्गीतिक करिअर र सामाजिक प्रतिष्ठा सबै दाउमा लगाएर आफूमाथि भएको करणीमा आवाज उठाएकी छन् । उनको उजुरीको आधारमा प्रहरीले (पिडक) आरोपित अभिनेता पल शाहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कसैको नाम उल्लेख नगरीकन ती रङ्ग पत्रकारले ‘दाह्रा निस्किएकोलाई महानायिका भनिदिनुपर्ने’ अभिव्यक्ति आफू तिरै लक्षित भएको उनले बताएकी थिइन् । यसले सम्पूर्ण नारीको अपमान भयो भनेर रुँदै कराउँदै हिँड्ने पूजाले पल प्रकरणमा दिएको यस्तो अभिव्यक्तिले सम्पूर्ण नारीको शिर झुकेको छ ।

फिल्मको दृश्यमा देखाइए झैँ नायिकामाथि पहिला हातपात गर्न खोज्नु, प्रतिकार गर्दा लुगा च्यातिदिनु, बलजफ्ती यौन क्रियाकलाप गर्नु मात्रै सायद ती नायिकाका लागि बलात्कार होला । नेपालबारे सामान्यभन्दा सामान्य ज्ञान नभएको भन्दै ट्रोल भएकी उनले नेपालको कानुनमा उल्लेखित बलात्कारको परिभाषा पनि पढ्नुपर्ने देखिन्छ ।

ती नायिकाले के बुझ्नुपर्छ भने करणी कसुरमा मुख्य वारदात स्थल नै पीडितको शरीर हो अर्थात् ष्ल अबकभक या चबउभ, तजभ खष्अतष्m’क दयमथ ष्तकभाि ष्क तजभ कअभलभ या अचष्mभ.​ यसै सम्बन्धमा करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्छ ।

त्यसमाथि यो प्रकरणमा उनलाई पीडित र पीडकबारे डे वानदेखि थाहा थियो । पीडित नाबालिगले आफ्नोबारे सबै कुरा उनलाई बताएकी पनि थिइन् । त्यसपछि उनले पीडितलाई ‘तिमीलाई साथ दिन्छु, सहयोग गर्छु’ भनेर समर्थन नगरेकी पनि होइनन् । तर अहिले आएर उनको फेरिएको अभिव्यक्ति सुनेर पीडित अलमलमा छिन् । यो मुद्दामा मेलमिलाप गराउन पीडितलाई दबाब दिनेमध्ये उनी पनि एक थिइन् । ‘हाम्रो मुभी यस्तो छ, अहिले त्यस्तो केही पनि नगर । अहिले तिमीहरू मिल । तिमीहरू मिलेपछि सबै जनाले राम्रो भन्छन्, सबैलाई राम्रो पनि हुन्छ’ भनेर पीडितलाई गलत आश्वासन दिलाएर फकाइन् । त्यसपछिका अन्तरवार्ता पनि उनीहरूकै दबाबमा आएर उनले दिइन् ।

उनको दिमागले के गर्ने, के नगर्ने भनेर ठम्याउनै सकेको थिएन, उनी मानसिक रूपमा विक्षिप्तजस्तै बनेकी थिइन् । त्यसरी फकाउने व्यक्ति(नायिका)को पछिल्लो बयानले पीडित साँच्चै नै अचम्ममा छिन् । एउटी छोरी मान्छेले अर्की छोरी मान्छेलाई समर्थन गर्नुको साटो, विभिन्न आक्षेप र लाञ्छना लगाउनु के सही हो त ?

कसैको चरित्रमाथि बोल्ने अधिकार कसैलाई पनि छैन । त्यसमाथि जसले जे जति बोलिरहेका छन्, त्यो बोल्न लगाइएको हो भन्ने लाग्छ पीडितलाई । उनीहरू योजना अनुरूप नै चलिरहेको हो भन्ने पनि थाहा छ उनलाई । पिडकको योजना दर्शकको नजरमा आफूहरू राम्रो हुने हो र पीडितलाई भने जतिसक्दो गलत देखाउनु हो ।

त्यस्ता पैसा लिएर बोल्ने मान्छेहरूलाई उनले यत्तिकै माफी भने दिने छैनन् । उनले कुनै पनि हालतमा छोड्ने वाला छैन । ती सबैबारे उनले एकएक हिसाब गरेर राखेकी छिन्, प्रत्येक शब्द वाणलाई उनले खात लगाएर राखेकी छिन् । प्रत्येकको नाम सूचीबद्ध रूपमा मनमा कुँदिएर बसेका छन् । सबैविरुद्ध उनले मुद्दा हाल्ने साहस जुटाएकी छिन् । हुँदै नभएको कुराहरू बोल्न कसैलाई पनि अधिकार छैन भन्छिन् । उनीविरुद्ध नराम्रो कुरा गर्नेहरुमध्ये कोही पनि उनको माफीको लायक छैनन् ।

एउटा अडियोको भरमा कतिले उनलाई कति थरी भने । त्यो अडियोको पनि उनी कुनै सत्यतामा नभएको स्पष्टिकरण दिन्छिन् । त्यही अडियोमा उनले आफ्ना दुःखको कुरा पनि गरेकी थिइन् । तर ती सबै काटिए, हालियो त केवल गलत अर्थ लाग्ने शब्द र वाक्यहरू । धेरैले पीडितलाई त्यही अडियोको भरमा नबुझेर गलत भनेको उनलाई लाग्छ ।

तर, अहिले पीडितलाई कसले के भने भन्दा पनि कानुनले को गलत, को सही भनेर निर्धारण गर्ने र समय नै बलवान् हो भन्ने लाग्छ । उनी समयको पर्खाइमा छिन् ।

कसले के भन्यो भनेर पछिल्लो समय सामाजिक सञ्जाललाई पछ्याउने पनि गर्दिनन् उनी । अहिले त उनीसँग मोबाइल पनि छैन । पीडक र पीडितबीचका संवाद हेर्नका लागि यो प्रहरीको अनुसन्धानको परिधिभित्र छ ।

यसमा पीडितले पीडकलाई फसाउन खोजेको भन्ने धेरैले आरोपसमेत लगाइरहेका छन् तर यस्ता मुद्दामा कसैलाई फसाउन चाहेर फसाउन सकिँदैन । यदि यसमा पीडितले नियतवश कसैलाई फसाउन खोजेको पुष्टि भएको खण्डमा सजाय भोग्न तयार भएको पीडित बताउँछिन् । उनी एकदम तयार छिन् ।

यस्ता विषयमा आफ्ना धारणा व्यक्त गर्न मानिसलाई निकै आतुर हुन्छ । यसभित्रको संसार दुई चिरा परेको छ । एउटा संसारले पीडितले न्याय पाउनुपर्छ भनिरहेको छ भने त्यसबाहेकको अर्को संसारमा पीडक र उनका समर्थकको रजगज र रोइकराई उदेकपूर्ण छ । तर, बलात्कार पीडितका लागि अनेकौँ लाञ्छना लगाउनेहरूले के बुझ्नुपर्छ भने जब यस्ता वारदात आफ्नो परिवार र दिदी बहिनीमाथि घटित हुन्छ तब वास्तविक पीडा के हो, थाहा हुन्छ ।

कसैको चरित्रमाथि नै प्रश्न उठाउन एउटा जिम्मेवार समाजको काम हुनै सक्दैन । दोषीलाई कारबाही, पीडितलाई न्यायको निरूपण गर्ने जिम्मा त अदालतको हो ।

फुल्न नपाई कलिलो कोपिला छँदैमा थरीथरीका राक्षसहरुको छाडा कुल्चाइमा परेर चुरचुर भएकी नाबालिग गायिकालाई कस्तो लाग्छ भने यो बाघ र डमरुहरूको एकछत्र राज चलेको संसार हो, तर बबन्डर आँधी उठेको उनको बाउँडिएको मन उचित समयको पर्खाइमा छिन् सत्यको नै जीत हुन्छ भन्ने कुरामा विश्वस्त भएर लडाइँको मैदानमा होमिएकी छिन् ।

(Visited 1 times, 1 visits today)

HTML tutorial