मनकामनापोष्ट

Written by 11:29 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

मधेस सरकारले खरिद गरेका बस विभिन्न संस्थालाई हस्तान्तरण गरिने


सिरहा,फागुन २४ गते । मधेस प्रदेश सरकारले लामो समयदेखि खरिद गरेर थन्क्याएका पाँच वटा बस अन्ततः विभिन्न संस्थालाई दिने निर्णय गरेको छ । ‘प्रदेश परिवहन’ का नाममा विभिन्न रुटमा सरकारीस्तरबाटै सञ्चालन गर्न भन्दै ती बस खरिद गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले खरिद गरिएका ती बस विभिन्न संस्थालाई दिने निर्णय गरेको मधेस सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । प्रदेश मन्त्रिपरिषदको बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक÷एक वटा गरी कुल पाँचवटा बस हस्तान्तरण गर्ने निर्णय गरेको उनले बताए ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन सञ्चालन गर्ने योजना अनुसार सो बस खरिद गरेको थियो । तर बस सञ्चालन गर्दा खर्चिलो हुने र यसका लागि कर्मचारीहरुको समेत व्यवस्था गर्नुपर्ने भन्दै ती बसलाई थन्क्याएर राखिएको थियो ।

मधेस प्रदेश सरकारले हस्तान्तरण गर्ने भनिएका संस्थाहरुले समेत बसको माग गर्दै आएका थिए । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशवासीलाई सहज, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने भन्दै बस खरिद गर्ने निर्णय गरेका थिए । उनकै पहलमा ०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा पाँच वटा बस कार्यविधि बिना नै खरिद गरी ल्याइएको थियो ।

ती बस लामो समयदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएकाले बसका विभिन्न पार्टपुर्जा समेत बिग्रिसकेका छन् । मन्त्रिपरिषदको बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने निर्णय गरेको मन्त्री साहले बताए । त्यस्तै युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृति प्रदान गरेको जनाइएको छ ।

(Visited 17 times, 1 visits today)

HTML tutorial