सर्लाही,चैत्र २४ गते । सर्लाहीमा केही दिनदेखि बेपत्ता रहेका बालकको शव फेला परेको छ । जिल्लाको मलंगवा नगरपालिका–१२ गम्हरिया बस्ने जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको हत्या गरी सेफ्टी ट्याङ्कीमा फ्याँकेको अवस्थामा शव फेला परेको हो ।
छिमेकीको घरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आइतबार राति गाउँमै न्वारानको भोज खान गएका बालक बेपत्ता भएपछि परिवारजनले प्रहरीमा जानकारी गराएका थिए । खोजतलास गर्ने क्रममा बालकको शव सेफ्टी ट्याङ्कीमा फेला परेको डिएसपी बुढाथोकीले बताए ।
बालकलाई खोजतलास गर्ने क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोही क्रममा उनको शव फेला परेको उनले जानकारी दिए । बालकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए।