काठमाडौं, वैशाख १४ गते । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय बढेको छ।
हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म ७ घन्टा रहेकोमा जेठ १ गते आइतबारबाट कार्यालय समय १ घण्टा बढ्ने भएको छ। बिहान ९ बजेर ३० मिनेटदेखि सुरू भएको कार्यालय समय साँझ ५ बजेर ३० मिनेटसम्म रहने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रूपमा जेठ १ देखि लागू हुने गरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ ५ बजेर ३० मिनेटसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको जानकारी दिएका हुन्।