मनकामनापोष्ट

Written by 3:03 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

भुईमा सुतेको राजेशमानको तस्बिरको चौतर्फी चर्चा


वीरगञ्ज,जेठ ९ गते । ‘उहाँलाई न एसि चाहिन्छ न सोफा न राजगद्दि, भुई मान्छे भुईमै सिरानी’, भुईमा बिछाइएको म्याटमा सुतेका राजेशमान सिंहको तस्बिरसहित सामाजिक सञ्जाल (फेसबुक) मा पोस्ट लेखेका छन् पत्रकार जियालाल साहले । वीरगञ्जका अधिकांश युवाहरुले पनि यो तस्बिर पोस्ट गरेका छन् । मधेश प्रदेशका एक मात्र महानगरपालिका वीरगञ्जको मेयरमा सुनिश्चित भइसकेका राजेशमान भुँईमा म्याट ओछ्याएर सुतेको देखेपछि उनको चौतर्फी प्रसंशा भइरहेको छ।

वीरगञ्ज मुर्लीका युवा निरज पाण्डे त्यही तस्बिर पोस्ट गर्दै लेख्छन्, ‘भुईबाट उठेको व्यक्तिलाई आकाश हेर्दा राम्रो लाग्न सक्ला तर उसले आफ्नो माटोलाई कहिल्यै बिर्सिन सक्दैन, किनभने उसले भुई र माटोको महत्व बुझेको हुन्छ, माटोले उसलाई दिएको शक्ति बुझेको हुन्छ ।’

शक्तिले मान्छे मात्तिने र आफ्नो धरातल भुलेर आफुलाई नै सर्वपरी ठान्ने बुझाई उक्त तस्बिरले गलत साबित गरिदिएको पाण्डे बताउँछन् । उनी अँझै थप्छन्, ‘उसले चाहेको भए आज हरेक सेवा सुविधा प्रयोग गर्न सक्थ्यो तर अहँ उसलाई आफ्नो भुई प्यारो छ, आफ्नो धरातल प्यारो छ ।’ वीरगञ्जको नेतृत्व गर्ने जिम्मा सही व्यक्तिलाई दिएको प्रमाणित भएको पनि पाण्डेको भनाई छ।

स्थानीय युवा उद्यमी अनिल ब्याहुत त्यही तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘यो फोटो देख्दा सार्है चित्तबुझ्यो, माटोमा जन्मेको ब्यक्ति आनंदले भुईमै निदाएका छन् । आज जुन पदमा उनि निर्वाचित हुँदै छन् उनले चाहेको भए त्यहीं बेड वा सोफाको व्यवस्था गराउन सक्थे तर उनलाई आफ्नो माटो नैं प्यारो लाग्यो र भुईमै मस्त निन्द्रामा सुते।’

ईन्जिनियर राजेश यादवले पनि यस्तै आशयसहित सोही तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। राजेशमान सिंहलाई मेयरका लागि मत हालेर वीरगञ्जको परिवर्तन गर्ने अभियानमा सहयोग गरेको वीरगञ्जका स्थानीय युवा सन्दिप पटेलको धारणा छ । वीरगञ्जबासीको सामाजिक सञ्जाल आज राजेशमानको सोही तस्बिरले भरिएको छ ।

मतगणनास्थलको कोठामा बिछाइएको म्याटमा सुतेका राजेशमानको उक्त तस्बिरले वीरगञ्जबासीमा उत्साह थपिएको सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले स्पष्ट हुन्छ । बालकदेखि वृद्धसम्म, सञ्चारकर्मीदेखि सामाजिक अभियानतासम्मले उक्त तस्बिरलाई शेयर गर्दै उनलाई बधाई तथा शुभकामना दिएका छन्।

(Visited 136 times, 1 visits today)

HTML tutorial