मनकामनापोष्ट

Written by 4:28 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

राजमार्गमा केरा बेचेर जीवन गुजारा !


विराटनगर,असोज १७ गते । कानेपोखरी ५ कि मुना राई केरा व्यापारमा व्यस्त छन् । कानेपोखरीकै जहदा घर भएकी राईको दैनिकी सडकमा आउनु र दिनभरी रुघेँर साँझ घर फर्कनु हो । बिहान करिब ८ देखि ९ बजेको बीचमा कानेपोखरी चोकमा आउने अनि दिनभरी केरा व्यापार गरेर साँझ फर्किनु उनको दैनिकी हो ।
यसरी राजमार्ग आएर बसमा केरा बेच्न थालेको १० वर्ष भएको उनले बताइन् । बहत्तर बिघा भन्ने ठाउँबाट उनले केरा खरिद गरेर ल्याउने गरेको बताइन् । ‘हरेक दिन बिहान केरा खरिदको लागि बारीमा जानुपर्छ,’ उनले भनिन्, ‘हरेक दिन बिहानै बारीमा नजाने हो भने अर्को दिनलाई केरा अभाव हुन्छ ।’
दुःख नगरीकन कमाइ नहुने उनी बताउँछिन् । उनले दैनिक एक सय दर्जनभन्दा बढी केरा बेच्छिन् । ‘यहाँ धेरैजना हुनुहुन्छ,’ उनले भनिन्, ‘सबै केरा बेच्नको लागि नै बस्नुभएको हुन्छ । प्रतिस्पर्धा गरेर पनि एक सय दर्जन बढी केरा दैनिक विक्री हुन्छ । मुनाकाअनुसार बारीमा नै ३÷४ रुपैयाँ पर्ने केरालाई यहाँ ल्याएर ८ रुपैयाँसम्म बेच्छन् ।
अरुले केरा बेचेर आम्दानी गरेको देखेकी कानेपोखरी गाउँपालिका वडा नम्बर ५ कै सुस्मिता राई पनि केरा बेचेर राम्रो कमाउँछिन् । उनले ल्याउने केराबाट दैनिक ५ हजारको केरा बेच्ने गरेको राई बताउँछिन् । यसरी बेचेको केराबाट दैनिक ७ सयदेखि १५ सयसम्म कमाई हुने उनको अनुभव छ । बिहानैदेखि रातिसम्म खट्न भने राम्रो कमाइ हुने अनुभव गरेकी सुस्मिताको लागि श्रीमान्ले भने साथ दिँदैनन् ।
उनी केरा बेचेर केही हुँदैन भन्ने ठाक्छन् । ‘मैले कति पटक श्रीमान्लाई भनेँ केरा बेचेरै धेरैले प्रगति गरेका छन् हामी पनि बुढाबुढी मिलेर गरौँ भनेर, मान्दैनन्,’ उनले भनिन्, ‘सबै मिलेर गर्नेले त राम्रो कमाइ गरेकै छन् । तर, म त एक्लैले धेरै कमाइ हुँदैन । हरेक दिन सडकमा गाडीका झ्याल चहार्नेहरुले केरा बेचेरै राम्रो आम्दानी गरेका छन् । केही नहुने सुकुम्बासीहरुले पनि घर खेत जोडेका छन् ।
केरा बेचेरै भएपनि राम्रो आम्दानी हुने र त्यहाँबाट घरखेतसमेत जोड्न सकिने बताउँछिन् सुस्मिता । ‘आम्दानी नै नहुने भन्ने हैन,’ उनले भनिन्, ‘दुःख गर्न सक्यो भने यसबाट पनि राम्रै कमाइ हुन्छ । विदेश जानुपर्दैन ।’
बिहान बजेसम्म कानेपोखरीको राजमार्ग क्षेत्र सुनसान हुन्छ । कोही गाडी चढ्न आएका यात्रुहरु भएपनि यहाँ त्यस्तो चहलपहल देखिन्न । जब ८ बज्छ अनि केरा, निगुँरो, तथा सालको पात बेच्न आउनेहरूको चहलपहल बढ्न थाल्छ । कानेपोखरीको विशेषतालाई पहिला खिर खाने ठाउँको रूपमा लिने गरिएको भएपनि अहिले यो ठाउँलाई केरा पाउने ठाउँको रूपमा लिने गरिन्छ । बिहान ८ बजेदेखि चहलपहल ९ बज्दा नबज्दै भीड हुने गरेको स्थानीयहरू बताउँछन् ।

कानेपोखरीको एउटा चोकको पश्चिम स्टेशनमा मात्र ४० जना भन्दा बढीले केरा विक्री गरेर स्वरोजगार बनेका छन् । कानेपोखरीको पूर्वीचोक र चिसाङ खोलाको किनारमा समेत अहिले केरा बेच्नका लागि बृद्धबृद्धादेखि केटाकेटीसम्म सक्रिय देखिन्छन् । बिहान ७ बजेदेखिको व्यापार साँझ ७ बजेसम्म नै हुने यहाँ व्यापार गर्नेहरुको भनाइ छ ।
यसरी राजमार्गमा आएर केरा बेच्नेहरु अधिकांशको आफ्नो बगैँचा छैन । किसानबाट किनेर ल्याउने र त्यसबाट मुनाफा कमाउनेहरुको संख्या धेरै रहेको छ । प्रतिकोसा ३ देखि ४ रुपैयाँमा किनेर ल्याइने केराको बजारमूल्य ९ रुपैयाँसम्म पर्ने गरेको छ ।
मोरङ जिल्लामा २ हजार ४ सय ६७ हेक्टरमा केरा खेती हुँदै आएको छ । मोरङमा ३५ हजार ५ सय ६५ मेट्रिकटन केरा उत्पादन हुने कृषि ज्ञानकेन्द्र सम्पर्क कार्यालय, विराटनगरका प्रमुख रामदेव सिंह बताउँछन् ।

सरकारले केराको ब्लक क्षेत्र पनि छुट्याएको छ । मोरङमा एउटा मात्र केरा पकेट क्षेत्र सुन्दर हरैँचामा छ । त्यस ब्लकमा करिब एक सय बढी किसान आबद्ध रहेको कृषि ज्ञानकेन्द्र सम्पर्क कार्यालय, मोरङका प्रमुख सिंह बताउँछन् । एक ब्लकमा डेढ सय हेक्टर जमिन हुने गरेको छ ।

(Visited 5 times, 1 visits today)

HTML tutorial