तैयवको हत्याको मुख्य योजनाकार भुपु वडा अध्यक्ष नुरुल्लाह पक्राउ

२०८१ बैशाख २, आईतवार १७:३३

जिल्ला प्रहरी कार्यालय रौतहटको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो ।
अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रुपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा चोक नजिक रहेका नेपाल भारत सीमावर्ती क्षेत्र भएर भारत तर्फ जानेक्रममा आज विहान २ बजेको समयमा निजलाई पक्राउ गर्न सफल भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया गाउँमा ७८ बर्षिय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका थिए । तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कत्र्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र निजको भाई खलिउल्लाह फरार रहदै आएको उक्त पत्रकार सम्मेलनमा जानकारी गराइयो ।


वृद्ध तैयवको हत्या गराउनमा मुख्य योजनाकार रहेका शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले कत्र्तव्य ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
मुख्य योजनाकार एवं अपराधिक कार्यका कुख्यात पेशेवर अपराधी शेख नुरुल्लाह सहितका व्यक्तिहरु सीमावर्ती क्षेत्रमा बसिरहेको र सहजै घर सम्म ओहरदोहर गरिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरुमा विशेष निगरानी बढाएका थिए ।



ताजा खबर