सप्तरीको खडक नगरपालिकामा विद्यालय बन्द तर खाजाको पैसा निकासा

२०७८ कार्तिक ३०, मंगलवार ०७:५५


शुभ नारायण यादव
सप्तरी,कार्तिक ३० गते ।
नेपालमा कोरोना महामारी फैलिएसँगै संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि देश नै लकडाउन गर्यो । त्यसपछि सम्पूर्ण क्षेत्र ठप्प बन्यो । मान्छे घरबाट बाहिर निस्किनै नसक्ने अवस्था बन्यो । त्यतिबेला नै सप्तरीको खडक नगरपालिकाले भने शंकास्पद किसिमले विद्यालय दिवा खाजाको पैसा निकासा गरेको पाइएको छ ।
आर्थिक वर्ष ०७६÷७७ मा नगरपालिकाले लक्षित विद्यार्थीको संख्या यकिन नै नगरी ४७ लाख २९ हजार २४३ रूपैयाँ निकासा गरेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमार्फत औँल्याएको छ । ‘चैत्रबाट नेपाल पूर्ण रुपमा बन्दाबन्दी भएको अवस्था तथा १८० दिन यो वर्ष सञ्चालन नभएको अवस्थामा बढी दिनको खाजा खर्च निकासा भएको छैन भन्ने अवस्थामा नभएको एवम् बील भरपाई समेत पेश नभएकोले कार्यालयबाट छानवीन गरी बढी गएको रकम असुल हुनुपर्ने’, महालेखाको ५८ औं प्रतिवेदनमा भनिएको छ ।
निर्देशिका अनुसार दिवा खाजा बढीमा १८० दिन नबढ्ने गरी विद्यार्थी उपस्थित भएको दिनको मात्र दिनुपर्ने व्यवस्था छ । नगरपालिकाले सोही अनुसार नै दिवा खाजाको रकम निकासा गरेको छ । तर, विद्यालयमा विद्यार्थी उपस्थित भएको प्रमाण भने पेश गरेको छैन् ।
विद्यार्थी एकिकृत अभिलेख पेश नगरेकोले उपस्थित भएको दिनको मात्रै खाजा खर्च गएको छ भन्न सक्ने अवस्थामा समेत नरहेको प्रतिवेदनमा उल्लेख छ ।
उता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले आफु केही समयअघि मात्रै हाजिर भएकोले ती विषयबारे जानकारी नरहेको बताए । ‘ती विषयमा थप वुझ्नकोलागि नगरपालिकाको कार्यालय आउनुस्, हामी सबै सूचना दिन्छौं ।’



ताजा खबर